काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताउनुभएको छ ।
आज बिहीवार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताउनुभएको हो ।
उहाँले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताउनु भयो ।
उहाँले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताउनु भयो ।
गृहमन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गर्नुभयो । उहाँले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गर्ने प्रतिवद्धता जनाउनु भयो ।