बाबु-आमाको सपना पूरा गर्न विदेशिएको एक्लो छोरा खुट्टा गुमाएर फर्किएपछि

बाबु-आमाको सपना पूरा गर्न विदेशिएको एक्लो छोरा खुट्टा गुमाएर फर्किएपछि

गोरखा, १३ भदौ

गोरखाको भीमसेन थापा गाउँपालिका-२ तान्द्राङका केशव लामिछाने मनमा सानैदेखि एउटै सपना थियो, -‘बाचुन्जेल बा-आमालाई सुखसँग पाल्ने’ ।

पाँच छोरी जन्माएपछि केशवलाई बा-आमाले बुढेसकालमै जन्माए । २०५५ सालमा केशव जन्मिँदा उनकी आमा (छलिमायाँ) ४५ बर्ष र बा (अग्नीधर) ५५ बर्ष पुुगिसकेका थिए ।

सामान्य गरिब परिवारमा जन्मिएपनि रहरमा पाएको कान्छो सन्तान (छोरा) भएरै होला केशवलाई बा-आमाले सकुन्जेल कहिल्यै दुख कटाएनन् । क्षमताले भ्याउँदासम्म केशवको हरेक रहरहरु पूरा गर्दिन्थे । त्यसैले होला केशव सोच्थे, ‘म ठूलो भएपछि बा-आमालाई एक रति दुख गर्न लगाउन्न ।’

‘घरको एक्लो छोरा गरिब परिवारमै जन्मेपनि सुखसँगै हुर्के । बा-आमाले सकेको सुख दिनुभयो । त्यसैले पनि होला सानैदेखि ठूलो भएपछि जति दुख गर्नुपर्छ म गर्छु । तर, बा-आमालाई दु:ख गर्न दिन्नँ । उहाँहरुको सबै सपना, रहरहरु पूरा गर्छु भन्ने सोच आउँथ्यो’, केशव भक्कानिन्छन् ।

केशवले कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढे । जसोतसो कक्षा १२ सम्म पढ्न पाए राम्रै काम पाइन्छ भन्ने सोचे अनि गोरखा सदरमुकाममा रहेका जेठो भिनाजुको घरमा बसेर कक्षा ११ मा पढ्न थाले ।

उनी सदरमुकाम पढ्न थालेपछि खर्च जुुटाउनै सकस हुन थाल्यो । घरको आयस्रोत अत्यन्तै न्यून भएपछि लामछिाने २०७५ सालको असार महिनामा रोजगारी खोज्दै भारतको पन्जाबमा पुगे ।

पन्जाब पुगेपछि उनी ग्रिल उद्योगमा काम गर्न थाले । मासिक करिब २२ हजार तलब बुझ्थे । त्यहाँ पुगेको दुई महिनासम्म उनले घरमा नियमित पैसा पठाए ।

छोराले कमाई गरेर महिनैपिच्छे पैसा पठाउन थालेपछि बुढा बा-आमा खुसीले दंग थिए । उनीहरुलाई लाग्थ्यो, ‘अब हाम्रो दुखको दिन सकियो, सखका दिन आयो’ ।

तर, यो परिवारमा भर्खरै झुल्किएको खुसीका किरणहरु लामो समय टिक्न सकेन । पन्जाब पुगेको तीन महिना नबित्दै केशव दुर्घटनामा परे ।

‘पैसा कमाएर बुढेसकाल लागेका बाबुआमाको सहारा बन्छु भनेर पढाई छाडेर भारत पुगेँ, अहिले आफैँलाई साहारा आबश्यक पर्ने भएको छ’, केशव दुखेसो सुनाउँछन् ।

बैशाखीको सहारा लिनुपर्ने भएपछि . . .

बुढेसकाल बा-आमाको सहारा बन्ने सोचेर पन्जाब पुगेका उनले दुर्घटनामा परेपछि एउटा खुट्टा गुमाए । अहिले उनैलाई बैसाकीको सहारा नभई हुन्न ।

उनको बुबाको पनि एउटा खुट्टा नशाको रोगका कारण चल्दैन, आमा पनि दमको रोगी । घरमा उनी, उनका बृद्ध बा-आमा मात्रै छन् ।

बा-आमाले कमाउन नसक्ने भएपछि कक्षा ११ मा पढ्दापढ्दै चटक्क छाडेर कमाउन गएका उनी नै दुर्घटनामा परेपछि उनको सम्पूर्ण परिवार नै सहाराविहीन बनेको छ ।

लामिछानेको बुबाले आँखाभरि आँसु बनाउँदै दुु:ख सुनाउँछन्, ‘कान्छो (केशव) भारत जानुभन्दा अघिल्लो सालसम्म म आफै त्यही भारतमा नै मजदुरी गरेँ, त्यसैले परिवार पालेँ । छोरोले बा- अब म ठूलो भएँ, तपाईहरु कति दुख गर्नुहुन्छ ? अब म कमाउँछु तँपाई घरमा बसीबसी खानु भन्यो । अनि जान छाडेँ ।’

उनी टक्क रोकिन्छन् अनि थप्छन्, ‘हामीलाई सुख दिन भनेर भारत गएको छोरो डुडो भएर फर्कियो । खै के भनौँ ।’

‘बेसहारा परिवारको सहारा नै बृद्धभत्ता’

रोजगारीका लागि भारत पुगेका उनलाई कम्पनीले पनि कुनै सहयोग गरेन । दुर्घटनामा परेपछि दिदिहरु र आफन्तले क्रृण खोजेर पठाएको पैसाले उपचार गरी केशव घर फर्किए । उनी नेपाल आइपुग्दासम्म धन्नै ६ लाख रुपैँया खर्च भयो । त्यती बेलाको ऋण पनि अझै बाँकी छ ।

‘घरमा तीनजना छौँ । तीनै जना रोगी भयौँ । कोही काम गर्न सक्दैनौँ । कमाई हुनेबाटै छैन । खै के गर्ने हो ?’ लामिछानेको बुबा समस्या देखाउँछन् ।

अहिले यो परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय छ । घरको आयस्रोत भनेकै अग्नीधरको बृद्धभत्ता हो । त्यो वाहेक कहिलेकाँही छोरी, ज्वाइँहरुले सक्दो सहयोग गर्छन् ।

केशवले अपांगता परिचयपत्र बनाउन वडामा निवेदन दिएको पनि वर्षदिन बितिसक्यो । तर, अहिलेसम्म बनेको छैन । अपांगता परिचयपत्र बनेमा त्यसबाट सामाजिक सुरक्षा भत्ता आए घरखर्चमा अलि सहज हुने उनको आश छ ।

‘हाम्रो लागि भगवान कहीँ त होलान् नि ?’

भनिन्छ, जसको सहारा कोही हुँदैन उसको लागि भगवान हुन्छ । केशव सँग पनि भगवानसँगको आस्था अझै पनि छ ।

‘भगवानले एकपटक सायदै झुक्किएर दु:ख दिनुभयो । ढिलोचाँडो कहीँ कतैबाट भगवानले हेर्नुहोला नि, हाम्रो लागि कहीँ त भगवान होलान् नि ?’, उनी भगवान प्रतिको आस्था देखाउँछन् ।

बा-आमालाई खुसी दिने पहिलो प्रयासमा नै खुट्टा गुमाएपनि उनले हरेस भने खाईसकेका छैनन् । अब उनीसँग एउटै आश छ, ‘कहीँ कतैबाट सिपमुलक तालिम सिकेर, सहयोग जुटाएर कुनै ब्यवसाय गर्न सकुँ । अनि परिवारमा छाएको दुख र पिडाका कालो बादललाई फेरि हटाउन सकुँ ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com