बादी समुदायका युवतीको पीडाः सरकारले शिक्षामा विभेद गर्दा यौन व्यवसाय अँगाल्न बाध्य छौँ

बादी समुदायका युवतीको पीडाः सरकारले शिक्षामा विभेद गर्दा यौन व्यवसाय अँगाल्न बाध्य छौँ
Published on
Updated on

काठमाडौं । बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । 

सोमवार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडीएको वर्गले अर्को पिछडीएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएका महशुस आफूले गरेको बताए ।

बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरुले सरकारले बादी युवतीहरुको शिक्षामा विभेद गरेका कारण बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताए ।

कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताउनु भयो ।

उहाँले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताउनु भयो । उहाँले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताउनु भयो ।

उहाँले आमाको नाममा नागरीकता बन्ने कानून बनेपनि बुबाको पहिचान खोज्दा हजारौँ बादी युवाहरुले दुःख व्यहोरिरहेको बताउनु भयो । उहाँले तीन तहकै सरकार बादी समुदायका समस्याप्रति उदासिन बनेका कारण बादी समुदायका समस्या जस्ताको तस्तै भएको बताउनु भयो । 

त्यस्तै बादी समुदायबाट अधिवक्ता बन्नुभएकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो ।

उहाँले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले राजनीतिक दलहरुले निर्वाचनताका ठूलो आश देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपालमा जतिसुकै व्यवस्था आएपनि बादी समुदायको अवस्था बदलिन सकेको छैन । नागरिकता पाउन पनि हात पाउ जोड्नुपर्छ । हामीले भोट दिँदा केही हेर्दैनन् आश देखाउँछन् तर अघिपछि बादी भन्छन् । हामीले भोट दिएकोबदलामा केही पनि गरेको छैन ।’

सरकारले बादी समुदायका बालबालिकाको शिक्षामा सहयोग नगर्ने र अन्य संस्थाले पनि कक्षा १० पछि पढाउन नपाउने कानून हुँदा बादी समुदायका युवतीहरु यौन व्यवसायमा फर्किन थालेको बताउनु भयो । आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ ।  

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com