
झापा । नेकपा एमालेको बलियो सङ्गठन रहेको झापा क्षेत्र नम्बर ५ मा चुनावी चर्चा बढ्दो छ ।
२०६४ सालबाहेक २०४८ सालयताका सबै निर्वाचनमा विजयी, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीबीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
अधिकारी अघिल्लो निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्न प्राध्यापनबाट राजिनामा दिएर राजनीतिमा लाग्नुभएको हो ।
ओली पूर्व प्रधानमन्त्री र एमालेका अध्यक्ष समेत भएकाले प्रभाव धेरै भएपनि काँग्रेसका उम्मेदवार पनि असल र बौद्धिक नेता भएको दमकका मतदाताहरू बताउँछन् ।
झापा ५ एमालेको बलियो सङ्गठन रहेको क्षेत्र पनि रहेको र राप्रपाले पनि एमाले उम्मेदवार ओलीलाई नै समर्थन गर्ने बताएकाले ओली अझै बलियो भएको अनुमान गर्नेहरू धेरै छन् ।
तर, नेकपा माओवादी केन्द्र, नेकपा एस, राप्रपाको एक समूह ओलीसँग असन्तुष्ट आदिवासी समुदाय समेतको समर्थन डाक्टर अधिकारीलाई हुने काँग्रेसका नेता कार्यकर्ताको दाबी छ । आदिवासी रङ्गशालाको नाम फेरेर मदन भण्डारी रङ्गशाला बनाउन खोजेपछि आदिवासी समुदाय ओलीसँग असन्तुष्ट छ ।
झापा ५ मा दमकका साथै झापाको दक्षिणी भेग पनि पर्छ । तर यी क्षेत्रहरू दमकको छायाँमा परेकोे स्थानीयवासीको गुनासो छ । दक्षिणी भेगमा शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता मूख्य चासोका मुद्दा रहेको गौरिगञ्जका नौतली राजवंशीले बताउनुभयो ।
ओली र अधिकारी मात्र नभइ झापा ५ मा यसपटक लेखक र विश्लेषकका रुपमा चिनिनु भएका युग पाठकलगायत उम्मेदवार पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।