तीनकुने हत्या प्रकरण : गेटपालेका परिवारै रहेनन्

तीनकुने हत्या प्रकरण : गेटपालेका परिवारै रहेनन्

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ निवासी बालकृष्ण सिवाकोटीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा एउटा काठ उद्योग चलाएका थिए दिव्य सः मिल । उनी आफू गौशालामा बस्थे, राति मिलको रेखदेख गर्न गेटपालेको परिवार नै राखेका थिए ।

जग्गा भाडामा लिई टहरो बनाएर चलाइएको काठ उद्योगमा दोलखाकै कुमार भुजेल गेटपालेका रुपमा काम गर्थे । उनकी पत्नी अञ्दाजी ५२ वर्षकी अम्बिका भुजेल र आमा ७६ वर्षकी शुभद्रा भुजेल पनि काठमिलमै बस्थे । घटना भएको रात मोरंग बेलबारीका करिब १९ वर्षका नवीन राई पनि काठमिलमै थिए ।

प्रहरी स्रोतका अनुसार शुक्रबार राति ११ बजेर ५५ मिनेटको समयमा हत्याको घटना भएको प्रारम्भिक अनुमानमा देखिएको छ । मिलभित्र काठले बनेको एकतल्ले टहरोमा हत्याको घटना भएको हो ।

मृतक चारैजनाको टाउको र शरीरका विभिन्न भागमा खुकुरीले काटेको गहिरो चोट देखिएको छ । यो घटनामा परी एकाघरका तीनजनाले ज्यान गुमाएका छन् ।

प्रहरीले राति नै शवको मुचुल्का गराएर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याएको छ । तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटना के कारणले, कोबाट भयो भन्ने रहस्य अझै खुल्न बाँकी छ । प्रहरीले कुकुरको सहयोगमा खोजी तीब्र पारेको छ । राजधानीको मुख्य राजमार्गकै छेउमा भएको यस्तो विभत्स हत्याले नागरिकमा सुरक्षाको चुनौती भने बढाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com