यस वर्षको जाडोयाम सुक्खा हुनसक्ने

यस वर्षको जाडोयाम सुक्खा हुनसक्ने

काठमाडौं । पुसको मध्य हुँदासम्म विगतका वर्षको जस्तो चिसो महसुस भएको छैन । जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष विगतको भन्दा कम चिसो भएको जनाएको छ । अबका दिनमा पनि अघिल्ला वर्षको तुलनामा जाडो कम हुन सक्ने विभागको भनाइ छ ।

मंसिर १५ देखि फागुनको १७ गतेसम्मको समय अर्थात् डिसेम्बरदेखि फेब्रुअरीसम्मको तीन महिनाको अवधिलाई विभागले जाडो हुने समयको रुपमा लिएको थियो । जसमा विभागले तीन महिनाको अवधिमा देशभर अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान पनि गरेको थियो । तर पश्चिमी वायुको प्रभाव कम हुँदा जाडो सुरु हुने समयको एक महिना बितिसक्दा पनि अनुमानअनुसार वर्षात् भएको छैन । त्यही कारण चिसो महसुस गर्न नसकिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताइन् ।

अघिल्लो वर्ष काठमाडौंमा पुसको मध्यमा न्यूनतम् २ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तर यस वर्ष सबैभन्दा न्यूनतम् तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै गरी अघिल्लो वर्ष जुम्लामा यो समय माइनस ७ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा यस वर्ष माइनस ६ दशमलव ७ डिग्रि सेल्सिय मापन भएको छ । त्यस्तै नेपालगन्जमा अघिल्लो वर्ष ५ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा यस वर्ष ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

त्यसो त यस वर्ष उच्च स्थानमासमेत पर्याप्त हिमपात भएको छैन । त्यही कारण यस वर्षको जाडो याम सुक्खा हुनसक्ने विभागले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com