आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । वि.सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

माघ २ गते दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

यसै सन्दर्भमा सरकारले ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस-२०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।

बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे आम नागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ।

भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज चन्द्रागिरि नगरपालिकामा हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृह मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सो कार्यक्रममा भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना गरिने बताइएको छ । गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने आज उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा मुख्य समारोह आयोजना हुनेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com