राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिवार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गर्नुभएको हो ।

त्यस अवसरमा उहाँलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दिक्षितले स्वागत गर्नुभएको थियो ।

पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिनुभएको थियो भने स्वास्थानी व्रतकथा, गरुड पुराणलगायतका पुस्तकहरुको ब्रिफिङ रुचिपूर्वक सुन्नुभएको ललितपुर महानगरपालिकाका मेयर महर्जनले जानकारी दिनुभयो ।

मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ८५ हजार भन्दाबढी पुस्तकहरुको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा सञ्चालित पुस्तकालय हो । यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाई हुन गएको पनि मेयर महर्जनले बताउनु भयो ।

यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गर्नुभएको थियो । त्यस अवसरमा उहाँलाई मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले रचना गर्नुभएको धुन बजाएर सुनाइएको थियो भने उहाँले त्यसलाई ध्यानपूर्वक सुन्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिवार विदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गर्नुभएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com