राष्ट्रिय सभा निर्वाचनमा २०४७ जना मतदाता

राष्ट्रिय सभा निर्वाचनमा २०४७ जना मतदाता

काठमाडौं । निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको जानकारी दिएको छ । कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहेने छन । यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् ।

यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन । स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित नामावलीमा कुनै मतदाताको नाम छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ ।

त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com