माइतीघरबाट पक्राउ परेका सीके राउतसहित ५३ जनालाई गृहमन्त्रीको रोहबरमा छाडियो

माइतीघरबाट पक्राउ परेका सीके राउतसहित ५३ जनालाई गृहमन्त्रीको रोहबरमा छाडियो

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका सीके राउतसहितका ५३ जनालाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा छाडिएको छ ।

राष्ट्रिय धोती दिवस मनाउन भन्दै निषेधित क्षेत्र काठमाडौंको माइतीघरमा प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र जनमत पार्टीका अध्यक्ष सीके राउतसहितलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छुटाएका हुन् ।

धोती दिवस मनाउन माइतीघर पुगेका सीके राउतसहितका नेता कार्यकर्ताहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ अघि बढेको भन्दै सोमबार नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले भृकुटीमण्डपस्थित प्रहरी क्लबमा राखेको थियो ।

पछि गृहमन्त्री श्रेष्ठ स्वयं त्यहाँ पुगेर आफ्नै रोहबरमा राउतसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसहितका नेता-कार्यकर्तालाई छुटाएका थिए ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै ‘धोती हाम्रो सान हो’ लगायत नारा लगाएका थिए ।

अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता-कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com