एमाले सरकारबाट हटेपछि देश ओरालो लाग्यो : अध्यक्ष ओली

एमाले सरकारबाट हटेपछि देश ओरालो लाग्यो : अध्यक्ष ओली

भोजपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बाटोमा एमालेले मात्र डोर्‍याउन सक्ने बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत भोजपुर आइपुगेका ओलीले जन भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको बताए । आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएर काम गरेको बताउँदै अहिलेको सरकारले जनताको हितमाभन्दा पनि आफ्नो स्वार्थमा काम गरिरहेको उनको आरोप छ ।

उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनु पर्नेमा झनझन ओरालो लागेको दाबी गरे । देशमा विकासको काम अहिले ठप्प रहेको बताउँदै उनले भने ‘यस्तो अवस्था बदल्नका लागि एमालेको सरकार, एकल सरकार नभई हुँदैन । त्यसैका लागि हामीले मिसन २०८४ भनेका हौँ ।’

मंसिर १४ गतेदेखि सुरु भएको संकल्प यात्राअन्तर्गत ओलीलगायत उनको टिम १४ दिनपछि भोजपुर आइपुगेको हो । यस अभियानले देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने दाबी गरेको छ । ओली लगायतका जम्बो टोलीलाई नेकपा एमाले जिल्ला कमिटी भोजपुरले खोटाङ र भोजपुरको सिमानामा भव्य स्वागत गरेको थियो ।

चखेवापछि टेम्केमैयङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा नेता तथा कार्यकर्तासँग भेटघाटसँगै छोटो सम्बोधनपछि भोजपुर आइपुगेका उनले भोजपुर नगरपालिकाको सभाहलमा सम्बोधन गरेका थिए ।

अध्यक्ष ओलीसहितको टोली आज भोजपुरको पौवादुङमा र अरुण गाउँपालिकामा भेटघाट कार्यक्रम गरी आजै धनकुटा प्रस्थान गर्नेछ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली समृद्धिका लागि संकल्प यात्रामा सहभागी छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com