
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराब काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढ्ने आफ्नो कार्ययोजना रहेको पनि स्पष्ट पार्नुभयो ।
कृषि विभागले बुधवार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघट्ने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटकपटक दोहो¥याउनु भयो ।
कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उहाँले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताउनु भयो ।
मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने समेत बताउनु भयो । उहाँले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुनेगरी अघि बढन जरुरी रहेको समेत बताउनु भयो । कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको शुरुवात गर्ने मन्त्री साहको भनाई थियो ।