
काठमाडौं । भोलि सोमबार दिउँसो एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी गराउनुभएको हो ।
आईतबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरु पूरा गरिएको बताउनु भयो । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ ।
प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई थियो ।
संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ ।
तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरुलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनु भयो ।
संघीय संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ । अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरुले बोल्ने कार्यसूचि तय गरिएको छ ।
संघीय संसदमा सांसदहरुले पनि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ ।