गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिएका छन् । बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् ।

गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै उनले कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए । ‘जनतालाई खुसी बनाउनुपर्छ भन्ने मेरा चाहना हो, समाज समृद्ध भएपछि मात्र सबै प्रसन्न हुन्छन्,’ उनले भने, ‘हाम्रो पार्टी नयाँ अभियानका साथ अघि बढीरहेको छ, भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिने हाम्रो प्रयास हो ।’

उनले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरी देश विकासका लागि महत्वपूर्ण भूमिका खेलेको पनि दाबीसमेत गरे ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com