
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्ने दिन आउन अब केही दिनमात्र बाँकी छ । निर्वाचन आयोगले आउँदो शनिवारका लागि उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका तोकेको छ ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै दलहरु आन्तरिक गृहकार्यका साथै दलगत समीकरण निर्माणमा पनि व्यस्त छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
भेटमा लोसपाका नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन आग्रह गरेको बताइएको छ । लोसपा नेताहरुको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले सकरात्मक रहेको तर अरु ठूला दलसँग पनि कुरा सुझाव दिनुभएको लोसपा नेता केशब झाले नेपाल टेलिभिजनलाई जानकारी दिनुभयो ।
नेताहरुले आज भोलीमा नेपाली कांग्रेस र एमाले शीर्ष नेताहरुलाई भेटर नेता महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवारको रुपमा प्रस्ताव गरिने झाले बताउनु भयो ।
यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताउनुभएको छ ।
दाङको भालुवाङमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत पनि बताउनुभयो । उहाँले अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । तर मैले नै आफू के गर्ने सोचिसकेको छैन भन्नुभयो ।
राष्ट्रपतिको उम्मेदवारका विषयमा एकीकृत समाजवादीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले ‘पावर सेरिङ’मा पार्टीको भूमिका हुनुपर्दछ तर अरुले फाइदा उठाउने कुरा मान्य नहुने बताउनुभयो ।
यसअघि एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।
राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताउनुभयो ।
“प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन”, उहाँले भन्नुभयो, “अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । “संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ”, उहाँले भन्नुभयो, “देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ ।”