
काठमाडौँ । मन्त्रिपरिषद्ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । कानूनमन्त्री ध्रुवबहादुर प्रधानले क्याबिनेटबाट विधेयक स्वीकृत भएको र शुक्रबार संसदमा पेस गरिने बताए । विधेयकमार्फत सरकारले संवैधानिक परिषद् बैठकसम्बन्धी कार्यविधि संशोधन गर्दैछ ।
यता, शनिवारबाहेकका बिदाका दिन सरकारी कार्यालय खोल्ने बारे मन्त्रिपरिषद्को बैठकमा छलफल भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा सार्वजनिक बिदा धेरै भएको भनी सार्वजनिक रूपमा भएको आलोचनालाई कम गर्नका लागि महत्वपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो । एक मन्त्रीका अनुसार शनिवार बाहेकको बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।