मधेसका सबै निकायलाई भ्रष्टाचार मुक्त बनाउने मुख्यमन्त्री यादवको दाबी

मधेसका सबै निकायलाई भ्रष्टाचार मुक्त बनाउने मुख्यमन्त्री यादवको दाबी

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिनाभित्र भ्रष्टाचार मुक्त बनाउने दाबी गर्नुभएको छ ।

बुधवार प्रदेश सभाबाट विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शुन्यमा पु¥याउने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो ।

उहाँले भ्रष्टाचार छानबिनका लागि आफूले ५ सदस्यीय छानबिन समिति गठन गरेको पनि स्मरण गराउनु भयो । मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्ययोजना समेत सार्वजनिक गर्नुभयो । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उहाँको भनाई थियो । 

मुख्यमन्त्री यादवले भन्नुभयो, ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अब मैले तीन महिनाभित्र प्रदेश सरकारका जति कार्यालयहरु छन् । त्यसमा भ्रष्टाचार शुन्य गरिदिन्छु । र, सबै दललाई मिलाएर एकसाथ लग्नेछु । पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरुको छानबिन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानबिन समिति गठन गरिदिएको छु । सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु । आवश्यक प¥यो भने पुरक बजेट पनि ल्याउन सकिन्छ ।’

त्यस अवसरमा उहाँले आवश्यक परे पूरक बजेट ल्याउन सकिने पनि बताउनु भयो । बुधवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिनुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उहाँले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रश्तावको पक्षमा १०२ र विपक्षमा शुन्य मत खसेको सदनलाई जानकारी दिनुभयो । १०५ सदस्यीय प्रदेश सभामा ३ जना सांसद अनुपस्थित रहनुभएको थियो ।

यादवले प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली काँग्रेसको पनि विश्वासको मत प्राप्त गर्नुभएको छ भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उहाँलाई विश्वासको मत दिएको छ ।

गत पुस २७ गते प्रदेश सभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली काँग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेश सभा सदस्यले पनि समर्थन दिँदा उहाँले ७२ सांसदको समर्थन पाउनुभएको थियो ।

त्यस्तै, नेपाली काँग्रेस संसदीय दलको बुधवार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेश सभामा ७ जना मात्र सांसद रहेको नेकपा (एकीकृत समाजवादी) ले पनि पक्षमा मतदान गरेको छ ।

अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले काँग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल हुनुभएको छ । प्रदेश सभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com