चितवन- चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना भइरहेको पछिल्लो मतपरिणामअनुसार चितवन २ मा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ ।
इच्छाकामना १ र ३ को पुरै मत गणना भइसक्दा सभापति लामिछानेले १४ सय ९२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११ सय ३३ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७९५ मत प्राप्त गरी तेस्रोमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।