
काठमाडौं । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ ।
नेकपा एमालेका सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताउनुभयो।
सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको जानकारी दिँदै प्रवक्ता राईले भन्नुभयो, ‘छिट्टै समात्छौँ ।’ उनलाई पक्राउ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको बीचमा विवाद देखिएको छ । माघ ६ मा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।
सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरीलाई पक्राउ गर्नेबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको थियो–‘उपप्रधानमन्त्रीज्यूबाट पटक–पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।
अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् ।