इजरायली सेना र हमासबीचको भिडन्त जारी, दुवैतर्फ ११ सयभन्दा बढीको मृत्यु, ४ हजार बढी घाइते

इजरायली सेना र हमासबीचको भिडन्त जारी, दुवैतर्फ ११ सयभन्दा बढीको मृत्यु, ४ हजार बढी घाइते

इजरायल-प्यालेस्टिनी लडाकु समूह हमासबीचको भिडन्त जारी छ । इजरायली सेनाले गाजापट्टीस्थित हमास लडाकुका केन्द्रहरुमा आक्रमण तीव्र बनाएको छ ।

इजरायली सेनाको आक्रमणमा परी चार सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २३ सयभन्दा बढी प्यालेस्टिनीहरु घाइते भएका छन् । हमाससँगको युद्ध लामो र कठिन हुनसक्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् ।

प्यालेस्टिनी लडाकु समूह हमासले पनि इजरायली भूमिमा छिरेर छापामार शैलीमा कारवाही जारी राखेको दावी गरेको छ । इजरायलको दक्षिणी क्षेत्र माभ्किममा सशक्त कार्वाही गरेको हमासको दाबी छ ।

हमासको कारवाहीमा इजरायलतर्फ ७ सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । सुपरनोभा संगीत महोत्सव क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी शव भेटिएको उद्धारकर्ताहरुले बताएका छन् ।

लडाकुको आक्रमणमा परी २ हजारभन्दा बढी इजरायली घाइते भएका छन् । सयौंको संख्यामा इजरायलतर्फका व्यक्तिहरुलाई बन्दी बनाएको बीबीसीले जनाएको छ ।

यसैबीच, अमेरिकाले पूर्वी भू-मध्यसागरमा विमान वाहक,जहाज र जेटहरू लैजादै गरेको जनाएको छ । इजरायललाई थप सैन्य सामग्री दिने उद्देश्यले ती उपकरण लैजान लागेको अमेरिकी अधिकारीहरुले उल्लेख गरेका छन् ।

भिडन्तमा आफ्ना नागरिक परे-नपरेको सम्बन्धमा अध्ययन गरिरहेको पनि अमेरिकी अधिकारीहरुको भनाइ छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् ।

लडाकु समूहले एकै पटक विभिन्‍न ठाउँबाट जल,थल र हवाइ हमला गरेको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com