
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको छ ।
शनिवार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरुलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो । बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरुले के गर्ने भन्नेबारेमा पनि सांसदहरुलाई जानकारी गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।
उहाँले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्ने भन्नेबारेमा पनि जानकारी गराइएको बताउनु भयो ।
उहाँले पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने पनि जानकारी गराउनु भयो । उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने बताउनु भयो ।
प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधि सभामा सशक्त भुमिका निर्वाह गर्ने बताउनु भयो ।
बैठकले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रश्ताव पारित गर्ने निर्णय गरेको छ ।