आन्तरिक उडानको लागि निगमले थप विमान खरिद गर्न आवश्यक छः अधिकारी

आन्तरिक उडानको लागि निगमले थप विमान खरिद गर्न आवश्यक छः अधिकारी

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताउनुभएको छ ।

सोमवार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको बताउनु भयो । उहाँले निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायीत्व पूरा गर्नुपर्ने बताउनु भयो ।

अधिकारीले निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण गर्ने बताउनु भयो । उहाँले निगमको आर्थिक अवस्थाले ३ वटासम्म विमान किन्नसक्ने भएकाले निगम आन्तरिक उडानको लागि जहाज थप्ने तयारीमा रहेको भन्दै सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको बताउनु भयो ।

उहाँले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र निगमको सुधारमा तिब्रता ल्याउनु रहेको बताउनु भयो । उहाँले राज्यले राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले निगमको वित्तीय पुनःसंरचना नगरिएसम्म निगममा आमुल परिवर्तन हुनसक्ने अवस्था नभएको बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com