वामपन्थी शक्तिका बीचमा एकता गर्नुपर्नेमा नेकपा एसका पोलिटब्युरो सदस्यको जोड

वामपन्थी शक्तिका बीचमा एकता गर्नुपर्नेमा नेकपा एसका पोलिटब्युरो सदस्यको जोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमवारबाट शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताउनु भयो ।

उहाँले वामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताउनु भयो । त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरु एकमत रहेको उल्लेख गर्नुभयो ।

बैठकमा करिव ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रश्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताउनु भयो । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा हामी छलफल गरिरहेका छौँ । सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ । औपचारिक प्रश्ताव नै नआएको । प्रश्ताव आएपछि त्यो प्रश्ताव लायक छ, छैन । हाम्रा उद्देश्य अनुसार यि सबकुरा हुन्छन्, हुँदैनन् । हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन । त्यसपछाडी गरिने कुरा हो । त्यसकारण हामी सँग औपचारिक प्रश्ताव नै छैन ।’

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताउनु भयो ।

व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पार्नुभयो । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटव्युरो बैठक राखिएको भन्दै उहाँले परिपक्व निर्णय गरिने बताउनु भयो । बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com