देशव्यापी आन्दोलन गर्ने नागरिक उन्मुक्तिको घोषणा

देशव्यापी आन्दोलन गर्ने नागरिक उन्मुक्तिको घोषणा

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी आन्दोलित भएको छ । पार्टीका सल्लाहकार चौधरीको रिहाईको माग गर्दै आज (जेठ ३ गते) देखि आन्दोलन गर्ने सो पार्टीले घोषणा गरेको हो ।

पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी प्रेस विज्ञप्तिमा राँके जुलुस, कोणसभादेखि बन्द हड्तासम्मका कार्यक्रम घोषणा गरिएका छन् । टीकापुर घटना राजनीतिक भएको बताउँदै नागरिक उन्मुक्ति पार्टीले राजबन्दीहरुलाई फौजदारी अभियोगमा जेल सजायँ गर्न नमिल्ने जिकिर गरिएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि रेशमलाल चौधरी लगायतका राजबन्दीहरु हत्यारा हुन् भने फासी दिने ऐन बनाएर रेशम चौधरीलाई फासी दिए हुन्छ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत नागरिक उन्मुक्ति पार्टीले दोहोर्याएको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो पनि (आन्दोलनबाहेक) अर्को विकल्प छैन ।’

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको हिंसात्मक घटनामा ९ जना सुरक्षाकर्मी र एकजना नावालकको ज्यान गएको थियो । यस घटनामा रेशमलाल चौधरीसहित ४ जनालाई जन्मकैदको सजायँ भएको छ भने चार जनालाई १० वर्ष कैदको सजायँ भएको छ । त्यसैगरी थप ८ जनालाई पाँच वर्ष कैद सजायँ तोकिएको छ । बाँकी चारजनालाई ३ वर्ष र एकजनालाई अदालतले ६ महिना कैद सजाँय तोकेको छ । यस घटनामा संलग्न रहेको आरोप लागेका २९ जना प्रहरीको फरार सूचीमा छन् ।

मंगलबार सर्वोच्च अदालतले रेशमलाल चौधरी लगायतका बन्दीहरुको जन्मकैदको सजायँ सदर गर्ने फैसला सुनाएपछि नागरिक उन्मुक्ति पार्टी आन्दोलित बनेको हो ।

सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट बसेको पार्टीको बैठकले भनेको छ, ‘हिजोको सम्मानित अदालतको फैसला, न्यायमुर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा अदालती होइन । आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्दछौं ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com