मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग एक्लाएक्लै र सामूहिक भेटवार्ता गर्दै आए पनि मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन सकेका छैनन । संसदबाट दोस्रोपटक विश्वासको मत लिएको पाँच दिन भइसक्दा पनि कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय पाउने भन्ने सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार छुट्टाछुटै छलफल गर्दै मन्त्रिपरिषद् बिस्‍तार छिटो गर्नुपर्ने बताउनु भएको छ । प्रधानमन्त्रीलाई चैत ६ मा विश्वासको मत दिएका सबैजसो दल सरकारमा जाने तरखर गर्दैछन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा मात्रै सरकारमा नजानेमा छ । सत्ता गठबन्धन दलहरु सरकार विस्तारको गृह कार्यमा जुटे पनि ठोस सहमतिमा पुग्न सकेका छैनन् ।

गठबन्धन दलवीच कुन दलले कति र कुन कुन मन्त्रालय लिने भन्ने बाँडफाँटको टुङ्गो लगाउन नसक्दा सरकार विस्तारमा अलमल भएको छ । विहीवार सत्ता गठबन्धनदलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसे पनि मन्त्रालय बाँडफाडको टुङ्गो लाग्न सकेन ।

चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले हप्तादिन भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए । एमाले, रास्वपा र राप्रपाले सरकारबाट बाहिरिएपछि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिएका छन् ।

प्रधानमन्त्रीले फागुन १६ गतेदेखि नै १६ वटा मन्त्रालय हेर्दै आएका हुन् । आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर प्रचण्डले चाँडै सरकारलाई पूर्णता दिने तयारी गरे पनि दलले पाउने मन्त्रालयको संख्या र मन्त्रालय टुङ्गो लाग्न नसक्दा अझै केही दिन छलफलमै वित्ने देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिएका छन् । दाहाल नेतृत्वको अहिलेको सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन् । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलगायत मन्त्रिपरिषदमा सहभागी हुन तयार छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com