क्यानडा र भारतबीच कूटनीति तनाव, दुवै मुलुकका राजदूतलाई देश निकाला

क्यानडा र भारतबीच कूटनीति तनाव, दुवै मुलुकका राजदूतलाई देश निकाला

काठमाडौं । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर क्यानडा र भारतबीच कूटनीतिक तनाव बढेको छ । भारत र क्यानडा दुवै देशले एक अर्का मुलुकका कूटनीतिज्ञलाई देश निकाला गरेका छन् ।

पञ्जाब प्रान्तमा अलग्गै खलिस्तान राज्यको माग गर्दै आएका क्यानडेली नागरिक निज्जरको गत १८ जूनमा क्यानडामा हत्या भएको थियो । घटनालगत्तै क्यानडाले भारतीय संलग्नतामा हत्या भएको आरोप लगाउँदै सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई देश निकालाको आदेश दिएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारका एजेन्ट संलग्न भएको विश्वसनीय आरोपबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको जनाएका छन् ।

जवाफमा भारतले पनि नयाँदिल्लीस्थित क्यानडेली कूटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न आदेश दिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतको आन्तरिम मामिलामा बढ्दो हस्तक्षेप र भारतविरोधी गतिविधिका कारण क्यानडाका कूटनीतिज्ञलाई निस्कासनको निर्णय लिइएको जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको भारतीय संलग्नतालाई अस्वीकार गरेको छ । खालिस्तानी आतंकवादी र अतिवादीहरुलाई क्यानडाले प्रश्रय दिएको आरोपसमेत भारतले लगाएको छ ।

निज्जरको हत्याविरुद्ध खलिस्तानसमर्थकले क्यानडाको टोरन्टो, लण्डन, मेलबर्न, सानफ्रान्सिस्कोलगायतका सहरमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले भारत सरकारले नै उक्त हत्या गराएको आरोप लगाएका थिए । निज्जरसँगै खलिस्तानी आन्दोलनका तीन शीर्ष नेताको हत्या भइसकेको छ ।

गत जुनमा खालिस्तानी लिबरेशन फोर्सका प्रमुख अवतार सिंहको बेलायतमा र भारतद्वारा आतंकवादी घोषित गरिएका परमजीत सिंह पन्जवाडको मे महिनामा लाहौरमा गोली हानी हत्या गरिएको थियो ।

केही दिनअघि जी-ट्वेन्टी सम्मेलनमा भाग लिन भारत गएका ट्रुडोसँग भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा शिख पृथकतावादी गतिविधिबारे छलफल गरेका थिए । बढ्दो तनावपछि यस वर्ष हुने द्विपक्षीय खुला व्यापारको बैठकसमेत स्थगन गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com