
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। उनले सरकारी कर्मचारीको तलब र पूर्व शिक्षकको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका हुन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोष्ट गर्दै अयोग्य पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिनुपर्ने उनले बताए । ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन, उनले लेखेका छन् ।
उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने पनि बताएका छन्। सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने बताएका छन् ।