सहमतिपछि चिकित्सकहरूको आन्दोलन स्थगित

सहमतिपछि चिकित्सकहरूको आन्दोलन स्थगित
Published on
Updated on

काठमाडौं। सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। यससँगै चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ।

नेपाल चिकित्सक संघले उठाएका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार आइतबार अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्ष सहितका प्रतिनिधिहरु भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो। 

जसअनुसार मकवानपुरको सञ्चो अस्पतालमा डिउटीमा रहेका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ।  हाल पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ जना सहित अन्य दोषीहरूलाई कानुन बमोजिम बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको वार्ता समितिका संयोजक डा विकास देवकोटाले जानकारी दिए। 

उनकाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने पनि सहमति भएको छ। 

यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ। 

यर्सैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा लैजाने, चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति पनि भएको छ। 

सोही सहमतिअनुसार संघको अगुवाइमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरू बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति भएको देवकोटाले जानकारी दिए। 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com