
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढीरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
आईतवा तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विगतमा सामन्ती,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने कुचेष्टा भइरहेको बताउनु भयो ।
उहाँले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगतमा एकातिर सामन्ती,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चल्यो भने आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने चेष्ठा भइरहेको छ । हामी एकातिर सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी छ भने वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितिमा छौँ । त्यसकारण हामीले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, हाम्रा ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व हामी सबैको काँधमा छ ।’
प्रधानमन्त्री दाहालले उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाईं गरेको बताउनु भयो ।
नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले माघ १५ गतेदेखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण हुने बताउनु भयो ।