प्रदेश १ को उपसभामुखको निर्वाचन पुस ३० गते

प्रदेश १ को उपसभामुखको निर्वाचन पुस ३० गते

काठमाडौं । प्रदेश १ को उपसभामुखको निर्वाचनको पुस ३० गतेका लागि तोकिएको छ ।

बिहीबार(आज) बसेको प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि तोक्नुभएको हो ।  

दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेले उपसभामुखमा भोजपुरकी सिर्जना राईलाई उम्मेदवार बनाउने तयारी गरेको हो । 

सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेपछि उपसभामुखको निर्वाचन मिति तोकिएको छ । सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीकी प्रदेश सांसद खिनुलङ्वा लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको एक प्रदेश सांसदले बताउनुभयो । कांग्रेसका नेता उद्धव थापाले उपसभामुखको उम्मेदवार कसलाई बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । 

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक—फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर‚ प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ । 

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । 

प्रदेशसभा नियमावलीको नियम ९ मा सभामुखले सदनमा उपसभामुखका लागि निर्वाचन मिति तोकेपछि प्रदेशसभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने व्यवस्था छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com