नक्कली शरणार्थी प्रकरण: आरजु र मञ्जुको अडियो प्रहरीलाई

नक्कली शरणार्थी प्रकरण: आरजु र मञ्जुको अडियो प्रहरीलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै राज्य संयत्रबाटै नागरिकबाट रकम असुल गरेको घटनाको अनुसन्धान कहाँसम्म पुग्ला ? भन्ने आम चासो छ । एक त नेपालीलाई भुटानी बनाउने र त्यसमा पनि गृह मन्त्रालयका सबै संयन्त्र प्रयोग गर्नेहरु को–को हुन् भन्ने अनुसन्धानको मूल विषय हो । वहालवाला सचिवसहित ८ जना प्रहरी हिरासतमा पुगिसकेका छन् । यसको जालो यतिमै सकिन्छ कि अनुसन्धानमा अन्य पनि तानिन्छन् ? अबको प्रश्न त्यही हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहविरुद्ध प्रहरीले गरिरहेको अनुसन्धानले ४५ दिन पूरा गरेको छ । संगठित अपराध भएकाले ६० दिनभित्र अदालतमा मुद्दा पेस गर्नुपर्नेछ । वहालवाल सचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकारसमेत रहेका इन्द्रजित राईसहित ८ जना हिरासतमा छन् । तर यो फेहरिस्त यतिमै सकिने देखिँदैन । सचिव पाण्डेको बयान लिइरहेको प्रहरी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको खोजीमा छ । त्यसो भए सचिव पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार बाहेक नक्कली शरणार्थी प्रकरणमा को–को अनुसन्धानको दायरामा आउन सक्छन् भन्ने प्रश्न बाँकी नै छ ।

२०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईको पालामा भुटानी शरणार्थी समस्याको दीर्घकालीन समस्या समाधानको उपाय पहिल्याउन कार्यदल गठन भएको थियो । जुन कार्यदलमा राखिएका मन्त्रालयका शाखा अधिकृतबाहेक पूर्वसहचिव बालकृष्ण पन्थी र विज्ञ भनिएका गणेशबहादुर केसी विचौलियाको चयनमा आएका व्यक्तिहरु हुन् । मन्त्रालयका तत्कालीन शाखा अधिकृत दिपकप्रसाद न्यौपानेको सरुवा भएपछि सचिव राईले अर्का अधिकृत नपठाउनुले गिरोहकै योजनामा समिति बनेको देखिएकाले तत्कालीन गृहमन्त्री थापामाथि पनि अनुसन्धान सोझिएको छ ।

आरजू र खाँण पनि शंकाकाे घेरामा

राईपछि सचिव बनेर आएका महेश्वर न्यौपानेको भूमिका पनि अनुसन्धानकै घेरामा छ । थापापछि गृह मन्त्रालयको नेतृत्व सम्हाल्न आइपुगेका बालकृष्ण खाँणका पालामा भुटानी शरणार्थीको सूचीमा राखेर शंकास्पद मानिएका ४ सय २९ जनालाई पुन:प्रमाणीकरण गर्न पटक–पटक ताकेता भयो । उनकै पालाका सचिव पाण्डेले विचौलियासँग पटक–पटक गरेको संवाद र तथ्यले पनि खाँण अनुसन्धान तानिने अर्का पात्र बनेका हुन् । विचौलियाका सदस्यका रुपमा पक्राउ परेका सन्देश शर्माले खाँणकी पत्नी मन्जु र आरजु राणालाई रकम दिएको भन्दै गरेको संवादको अडियो पीडितले प्रहरीलाई उपलब्ध गराइसकेका छन् ।

अब नक्कली शरणार्थी प्रकरणमा मन्जु र आरजु जोडिएका हुन् कि होइनन् भन्ने प्रमाण प्रहरीका लागि आवश्यक छ । यो सबै प्रपञ्च कहाँबाट कसरी बन्यो र ४ सय २९ जनाबाट रकम असुल गरेर शरणार्थीको सूचीमा समावेश गर्ने वातारण बन्यो भन्ने तथ्य बिचौलियाले प्रयोग गरेको भनिएका अध्ययन कार्यदलका संयोजक पन्थी र सदस्य केसीबाट खुलाउनुपर्ने छ । यो हिसाबले यदि सरकारले यो मुद्दालाई जडसम्मै लैजाने हो भने थप ७ जनालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको छ । त्यसका लागि प्रहरीले तथ्यसँगै सरकारी संयन्त्रको साथ खोजिरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com