कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू

कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू

मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू भएको छ । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन नसकेपछि हिजो पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै कोशी प्रदेशमा फेरि नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको हो । गत मंसिरमा आमनिर्वाचन भएयता कोशीमा अहिलेसम्म चार पटक सरकार फेरबदल भइसकेको छ ।

प्रदेश सरकार गठनका लागि संविधानको धारा १६८ का चार वटा व्यवस्थामध्ये तीन वटा प्रयोग भइसकेका छन् । तीन वटै सरकारले आफ्नो पक्षमा बहुमत जुटाउन नसकेपछि दलहरूका लागि दलीय हैसियतमा मुख्यमन्त्री बन्ने अवसर गुमेको छ ।

यो पृष्ठभूमिमा कोशीका प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका छन् ।

उपधारा ५ मा प्रदेशसभाको कोही पनि सदस्यले आफ्नो पक्षमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने व्यवस्था छ । यदि यो व्यवस्थाबमोजिम समेत सरकार बन्न नसकेको अवस्थामा प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ ।

तर दलहरूले मध्यावधि निर्वाचन अहिले जनताको माग नभएको बताउँदै आएका छन् । उपधारा ५ बमोजिम गठन हुने सरकारले समेत विश्वासको मत नपाए मध्यावधिमा जानुपर्ने परिस्थिति बन्ने, तर मध्यावतीमा नजानका लागि दलहरूबीच सहमति जुटाउने प्रयास भने भैरहेको छ ।

कोशी प्रदेशसभा ९३ सदस्यीय छ । सरकार गठनका लागि बहुमत जुटाउन ४७ मत आवश्यक पर्छ । पहिलो दल एमालेको ४० सीट हो । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com