अहिलेको अवस्थालाई नजिकैबाट नियालिरहेको छु: पूर्वराजा शाह

अहिलेको अवस्थालाई नजिकैबाट नियालिरहेको छु: पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफुले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन । बिहीबार भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले यस्तो बताएका हुन । उनले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुनाए ।

‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’ उनले आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनले बताए । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुख–दुस्ख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

उनले देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको बताएका छन । ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’, उनले भने ।

उनले अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने बताएका छन । आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं ।’

उनले देशमै उत्पादन उद्यम, इमल सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने बताएका छन ।

उनले विगतको सबै दुस्ख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com