
धनगढी। सुदूरपश्चिम प्रदेशसभामा आगामी पुस २८ गते सभामुखको चुनाव हुने भएको छ। ज्येष्ठ सदस्य मानबहादुर रावलले यहि पुस २८ गते सभामुखको निर्वाचन गराउनका लागि सचिव देवबहादुर बोगटीलाई तयारी अघि बढाउन निर्देशन दिएका छन्।
नेपालको संविधान १८१ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम सभामुखको निर्वाचनका लागि पुस २८ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको छ। त्यस्तै, प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सम्मतिले स्वीकृत गरेको छ। पहिलो बैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान प्रदान गरेका छन्।
सभाको विशेष समयमा प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि सामूहिक एकता हुनुपर्ने, बेरोजगारी समस्या समाधानका लागि ठोस नीति निर्माण गरिनुपर्ने, प्रदेश प्रति जनताको भरोसा दिलाउने काम गरिनुपर्ने, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न ठोस सुरक्षा योजना तय गरिनुपर्ने धारणा राखेका छन्। प्रदेश सभाको अर्को बैठक पुस २८ गते दिउँसो एक बजे बस्ने छ।