राम नेपालमै जन्मिएको भन्ने सुन्न थालिएको छ: प्रधानमन्त्री दाहाल

राम नेपालमै जन्मिएको भन्ने सुन्न थालिएको छ: प्रधानमन्त्री दाहाल

ओलीपछि प्रचण्डले भनेः राम नेपालमै जन्मिएको भन्ने सुन्न थालिएको छ

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामायणकालीन पात्र रामको जन्म नेपालमै भएको हुन सक्ने बताएका छन् ।

मानव सेवा आश्रमको हेटौंडामा नवनिर्मित भवनको शनिबार उदघाटन गर्दै उनले राम नेपालमै जन्मिएको भन्ने बहस भइरहेको बताए । यसअघि एमाले अध्यक्ष केपी ओलीले राम भारतमा नभई चितवनकै अयोध्यामा जन्मिएको बताएका थिए ।

प्रचण्डले शिव पार्वतीको स्थल पनि नेपालकै हिमालय भएको पौराणिक कथामा उल्लेख रहेको बताए । ‘पौराणिक कथा होलान् । तर शिव पार्वतीको स्थल त हिमाल नै हो नि त । यही हो भनेर दुनियाँले मानेकै छ । शिव पार्वती अहिले पनि कैलाशमा त छन् नै भन्ने प्रचार पनि दुनियाँमा धेरैले विश्वास गरेर हिँडेकै त छन्’, उनले भने, ‘सीता त जनकपुरमा जन्मिएको भन्ने पौराणिकता त स्थापित नै छ । हुँदाहुँदा अहिले त रामचन्द्र पनि यतै कतै जन्मिएको भन्ने पनि हुन थालेको छ ।’

नेपालमा पौरणणिक कालका गौरव र ऐतिहासिकता धेरै भएको प्रचण्डले बताए । प्रचण्डले धर्म सम्प्रदाय पनि मानव सेवाकै लागि स्थापना भएको उल्लेख गरे ।

पौराणिक कालदेखि नै नेपालमा प्रकृति, हिमाल, नदीनाला, पहाड, छहरा, हावापानीको अद्भुत अनुसन्धान भएको र विश्वलाई केही सन्देश दिने खालका चिजहरु स्थापित हुँदै आएको बताए ।

उनले गौतमबुद्धको जन्मस्थल नेपालले सांसारलाई ज्ञान बाँड्न र मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्ने सम्भावना रहेको औंल्याए । फरक प्रसंगमा उनले लामो संघर्षपछि संविधानसभाबाट जारी संविधाले नेपाली जनतालाई सार्वभौम बनाएको तथा शिक्षा, स्वास्थ्य, रोजगारी जनताको मौलिक अधिकार स्थापित भएको बताए ।

जनताको स्वास्थ्य, शिक्षा र रोजगारीको जिम्मा राज्यले लिनुपर्ने उनको भनाइ थियो । ‘जनतालाई सार्वभौम बनाउने र कोही पनि शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित हुने छैन भन्ने संविधानको व्यवस्था युगान्तकारी छ’, उनले भने ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com