काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभएको बताएका छन्। पार्टी कार्यालय च्यासलमा शनिबार प्युठान-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले अरू पार्टीको गन्तव्य सरकार बनाउने भए पनि एमालेको गन्तव्य सरकार नभई सुखी नेपाली समृद्ध नेपाल भएको बताएका हुन्।
सरकारमा पुग्ने, मन्त्री हुने, कमाउने र खाने बाटो एमालेको नभएको ओलीले बताए। उनले सरकारभन्दा पनि मुलुकमा स्थिरता र स्थायित्व कायम गर्नका लागि एमालेको ध्यान केन्द्रित रहेको धारणा राखे। प्रतिपक्ष वा सत्तापक्ष जहाँ भए पनि एमालेको भूमिका देश र जनताको पक्षमा प्रभावकारी हुने उनको भनाइ छ।
ओलीले भने, ‘एमाले बाहेकका दलहरूको कुनै गन्तव्य छैन। उनीहरूको गन्तव्य सरकारमा जाने र मन्त्री खाने मात्रै रहेको छ। नेकपा एमाले मात्रै स्पष्ट गन्तव्य भएको दल हो। हाम्रो दलगत स्वार्थ छैन। हाम्रो राष्ट्रिय स्वार्थ छ।’ उनले देश मध्यावधि चुनावतर्फ जाने सम्भावना देखिएको टिप्पणी पनि गरे। सरकार गठनमा देखिएको अन्योलताले अब फेरि घुमिफिरी मध्यावधि चुनावतर्फ जाने अवस्था देखिएको ओलीको भनाइ छ।
यसैबीच उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने पनि जिकिर गरे। ओलीले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन्, पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ। तर, उहाँले मलाई लाग्छ, ढिलो गर्नुभयो। निर्णय गर्न ढिलो गर्नुभयो। उहाँले समयमा कदम चाल्नु भएन।’
उनले सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्याए। उनले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे।