
काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले काँग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताउनुभएको छ ।
मुुलुकको राजनीतिक स्थायित्व र दिर्घकालीन हीतका लागि पनि दुई ठूला दलहरु काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उहाँको तर्क थियो । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था अझै नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्वमा को आउनु हुन्छ ? काँग्रेस आउनुहुन्छ कि माओवादी केन्द्रको आउनुहुन्छ कि । अब ठूला शक्ति भएको हुनाले नेपाली काँग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दिर्घकालीन स्थायित्वका निम्ति पनि हीतकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ ।’
सांसद थापाले मुलुकको दिर्घकालीन हीत केन्द्रित भएर राजनीतिक दलहरु अघि बढ्नुपर्ने धारणा समेत राख्नुभयो । उहाँ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।