'जनमत पार्टीका अध्यक्षले मर्यादा विपरित संसदमा सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाए'

'जनमत पार्टीका अध्यक्षले मर्यादा विपरित संसदमा सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाए'
Published on
Updated on

उपप्रधानमन्त्री एवम ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले संसदीय मर्यादा विपरित संसदमा आफैँले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दाबी गर्नुभएको छ । 

मधेसका शहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधि सभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाउनुभएको थियो ।

त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पार्नुभयो ।

उहाँले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका लिङदेनले आफूहरुले सो क्रममा सहीदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेसका शहीदहरुका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठने र नउठनेको विषय बाहिर प्रचारमा आईरहेको छ । सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो ।

उहाँको उपप्रधानमन्त्री म थिएँ । हामी उठेनौं । यसको  अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरुका प्रति हाम्रो चाहीँ सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ । तर संसदको एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनभने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोड्दैन । कि त त्यो विषय सभामुखले रुलिङ गर्नुप¥यो । कि मेरो प्रधानमन्त्री उठनुप¥यो । त्यसकारण हामीले यो भ्रम नरहोस् । हामीले त्यो विषयप्रति अनादर गरेको होइन । मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन । यसरी गलत प्रचार जानु हुँदैन । हामीले संसदीय मर्यादा भंग गर्नुहुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसदले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु । म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढंगले गलत कुरा लैजान पाइँदैन ।’

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकिर समेत गर्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com