काठमाडौं-छहरे सुरुङ मार्गको काम भइरहेको छ, साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन : अर्थमन्त्री महत

काठमाडौं-छहरे सुरुङ मार्गको काम भइरहेको छ, साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन : अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले काठमाडौं-छहरे सुरुङ मार्गको काम भइरहेको दाबी गरेका छन् । उनले आफूले यसका लागि १ अर्ब बजेट राखेको जनाउँदै साबेल र डोजर लगेर प्वाल पार्न नमिल्ने धारणा राखे ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्ने धारणा राखे । ‘काठमाडौं-छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौं । एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन,’ उनले भने ।

अर्थमन्त्री महतले अध्ययन सम्पन्न भएपछि काठमाडौं-छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिए । ‘यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइ ? भन्ने तपाईंहरुलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन,’ उनले भने, ‘त्यसका लागि भौगर्भिक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं । उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरुले सम्भावित दुई/तीनवटा विकल्प दिनुहुनेछ ।’

उनले चारमहिनामा अध्ययन सम्पन्न गराउने तयारी गरेको भन्दै उपस्थितलाई आश्वस्त बनाए । ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौं । त्यसपछि चीन सरकारले थप विकल्पहरु दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रक्रिया अगाडि बढ्छ,’ अर्थमन्त्री महतले भने ।

उनले सुरुङमार्ग बनेपछि काठमाडौंमा काम गरेर नुवाकोट फर्किन सकिने भन्दै आफू पनि यसमै जुटेको जनाए । उनले भने, ‘वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौं । एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु । सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घण्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।’

उनले अब काठमाडौं वरिपरिका जिल्लाको समय आएको धारणा पनि राखे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com