किसुनजीको शताब्दी जन्मदिवस: त्याग र सादगीपनको चर्चा

किसुनजीको शताब्दी जन्मदिवस: त्याग र सादगीपनको चर्चा

ललितपुर- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताउनुभएको हो ।

“उहाँलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो”, सभापति देउवाले भन्नुभयो, “उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्नेगरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन बनाउने संविधान जारी गर्न सफल हुनुभयो । उहाँको त्यागी, सादगीपनका साथै आदर्श व्यक्तित्वका विषयमा अझै खोजी गरेर किताब लेखिनुपर्छ ।”

सभापति देउवाले आजको समयमा सन्त नेता भट्टराईबाट सिकेर गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गर्नुभएका निष्ठावान् व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।

उहाँले अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गर्नुभएको बताउनुभयो ।

“किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेका अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गर्नुभएन, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोक्नुभएको थियो, उहाँले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाउनुभएको थियो”, उपसभापति खड्काले भन्नुभयो ।

उहाँले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्नेगरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो । उहाँले सरकार सञ्चालनमा किसुनजीले देखाउनुभएको बाटो अनुशरण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com