कोशी राजमार्ग अवरुद्ध

कोशी राजमार्ग अवरुद्ध

धनकुटा । शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । शनिबार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको हो ।

ओरालो बाटोमा ब्रेक फेल भएको टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा सो स्थानमा अहिले दर्जनौं सवारी साधन रोकिएर बसेका छन् । टिपर हटाएर सडक खुलाउन क्रेन मगाइएको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिए ।

प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भएर र अर्को नम्बर नखुलेको टिपरसँग ठोकिएर सडकमा पल्टँदासँगै रहेको पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई शनिबार साँझ ठक्कर दिएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको हो ।

संखुवासभाबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपरले साँझ ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगेपनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटना भएको ठाउँमा केहि दिनअघिदेखि सडकको भित्तामा एक टिपर पल्टिएर रहेको बसेको प्रहरीले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com