गत आवमा अख्तियारले गर्‍यो १८ हजारभन्दा उजुरीको फर्स्योट

गत आवमा अख्तियारले गर्‍यो १८ हजारभन्दा उजुरीको फर्स्योट
Published on
Updated on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष ०७९/८० मा १८ हजारभन्दा बढी उजुरीको फर्स्योट गरेको छ ।

आयोगले गत आर्थिक वर्ष ०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्स्योट भएको जनाएको हो । आयोगमा सोमबार पत्रकारमार्फत यसबारे जानकारी दिइएको हो ।

यस्तै आयोगले आफ्नो ३३औं वार्षिक प्रतिवेदन आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । प्रतिवेदनअनुसार आयोगमा आर्थिक वर्ष ०७९/८० मा २० हजार ९०५ उजुरी प्राप्त भएका थिए ।

त्यस्तै अघिल्लो आव ०७८/७९ बाट सात हजार १६२ उजुरी जिम्मेवारी सरेर आएका थिए । कारबाही गर्नुपर्ने कुल उजुरीहरु २८ हजार ६७ वटा रहेकामा त्यसैमध्येबाट १८ हजार ७९९ वटा उजुरीको फर्स्योट भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार एक हजार १३३ उजुरीमाथि विस्तृत अनुसन्धान गरिएको छ ।

त्यस्तै सात हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम अन्य कारबाहीका लागि लेखिपठाइएको उनले जानकारी दिए । प्रारम्भिक छानबिनका क्रममा रहेका नौ हजार २६८ उजुरी आव ०८०/८१ मा जिम्मेवारी सरेर आएको उनले जनाए ।

आयोगले आव ०७९/८० मा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेस भएका कुल ८७८ उजुरीमाथि आयोगबाट ९३७ वटा निर्णय भएकामा १६२ वटा आरोपपत्र दायर गरेको छ । त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको जनाइएको छ ।

विशेष अदालतमा दर्ता भएका १६२ आरोपत्रमध्ये गैरकानुनी लाभ-हानिसँग सम्बन्धित ६४ वटा, घुस/रिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानि-नोक्सानीसँग सम्बन्धित २७ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी १३ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आठवटा, राजस्व चुहावटसम्बन्धी सातवटा र विविध विषयका ११ वटा रहेको बताएको छ ।

उल्लेखित आरोपपत्रबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ मागदाबी लिइएको प्रवक्ता दाहालले जानकारी दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com