
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका हरेक क्षेत्रहरु अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताउनु भयो । उहाँले उमेर पुगेको भोलिपल्ट युवाहरु राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले कृषकहरुलाई कृषिको लागि मल र बिउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताउनु भयो । उहाँले विकास निर्माणको कामले पछिल्लो समय गति लिन नसकेको भन्दै विकास निर्माणका कामलाई पनि गति दिनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष लिङदेनले राप्रपा देशको अस्थिरताको कारक नबन्ने प्रतिवद्धता जनाउनु भयो ।