
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आईतवारको भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा हेलचेक्र्याईं गर्न नहुने बताउनुभएको छ ।
उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइएक पनि समितिले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरु भइरहेको बताउनुभएको हो ।
उहाँले अब पनि विज्ञहरुले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरु विमानमा चढ्दा मर्छु की बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताउनु भयो ।
सोमवार उपमहासचिव रिमालले जाँचबुझ समितिले निकालेको निस्कर्षप्रति सरकार र सम्बन्धित निकायहरु कति इमान्दार छन् भन्ने प्रश्न आम मानिसमा रहेको बताउनु भयो ।
उहाँले सरकार र सम्बन्धित निकायहरुले विज्ञहरुले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभइ थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो ।