भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति

भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति

रुकुम पश्चिम । दुई साताअघि जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिमको प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति देखिएको छ ।

दशैं र तिहारका लागि एक महिनाअघि बन्द गरिएका सामुदायिक विद्यालयमा सोमबार देखि पठनपाठन सुरु भएपनि विद्यार्थीको उपस्थिति न्यून देखिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तारा प्रकाश पुन मगरले प्रभावित क्षेत्रका विद्यालयमा अस्थायी सिकाई केन्द्रमार्फत पठनपाठन सुरु गरिएको बताए पनि विद्यालयको पहिलो दिन धेरैजसो विद्यालयमा विद्यार्थीको उपस्थिति देखिएको छैन । केही विद्यालयमा भने शिक्षकको मात्रै उपस्थिति रहेको पाइएको छ ।

भूकम्पपछि विद्यालयको पठनपाठन नियमित गर्न आठबिसकोट नगरपालिकामा १ सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको छ । तर सिकाई केन्द्र अझैपनि निर्माणकै क्रममा रहेकाले प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या न्यून देखिएको हो । यसबाट नियमित पठनपाठन सुरु गर्न अझै साता दिन लाग्ने भेरी दोभान माध्यमिक विद्यालय चाइनाबगरका प्रधानाध्यापक पूर्ण बहादुर ओलीको भनाइ छ ।

भूकम्पले धेरैजसो विद्यालय अहिले पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भएका विद्यालय पनि चर्किएर पठनपाठन संचालन गर्न उपयुक्त छैनन्, त्यसैले हाल पालिका र विभिन्न दातृ निकायको पहलमा अस्थायी संरचना निर्माणको काम भैरहेको छ । त्यसपछि मात्रै विद्यालयको पठनपाठन सुरु हुन्छ, प्रधानाध्यापक ओलीले भन्नुभयो ।´

रुकुम पश्चिममा भूकम्पबाट सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा ठूलो क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमको तथ्यांकअनुसार भूकम्पका कारण जिल्लाभर ५२ वटा सामुदायिक विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ५६ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका विद्यालयमा भूकम्पले क्षति पुर्याएको छ । आठबिसकोटमा मात्रै २७ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २६ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकामा १७ वटा विद्यालय पूर्ण रुपमा क्षति हुँदा २७ वटा विद्यालयमा आंशिक क्षति भएको बताइएको छ । यसैगरी भूकम्पबाट जिल्लाका क्षतिग्रस्त विद्यालयका ४ सय ९४ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका छन् । भूकम्पपछि ५५ विद्यालयका शौचालयमा पूर्ण रुपमा क्षति भएको र ८३ वटा विद्यालयका शौचालयमा आंशिक क्षति भएको छ ।

गएको कात्तिक १७ गतेको भूकम्पमा परेर रुकुम पश्चिममा १८ जना विद्यार्थीको मृत्यु भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com