मधेस प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन

मधेस प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन
Picasa


मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । 

सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

मन्त्रिपरिषदले पूर्णता पाउन नसकिरहेको समयमा प्रदेश सरकारका सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डाको विषय भने मोटामोटी टुंगिएको बताएका छन् । सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन् ।

यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ ।

यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिएपनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेस सरकारमा सहभागी नगराउने एमालेका संसदीय दलका नेता एवम बिना विभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिनुभयो ।

उहाँले आज (मंगलवार) अबेर रातिसम्म बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट हुने जानकारी समेत दिनुभयो ।

मन्त्री यादवले सत्ता साझेदार दलहरुको बैठकबाट मन्त्रालय भागबन्डाको सहमति जुटाइने बताउनु भयो । अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ ।

प्रदेश प्रमुख जनकपुरधाम बाहिर रहेकाले उहाँ आए लगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने मन्त्री यादवले बताउनु भयो । यसका साथै प्रदेशमा मन्त्रालयहरुको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको उहाँले बताउनु भयो ।

मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिना विभागीय मन्त्रीसहित शपथ लिनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com