
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एक पटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।
उहाँले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभयो ।
उहाँले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले आफू वागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने काम शुरु गरेको बताउनु भयो ।
उहाँले आगामी दिनमा सरकारले ५ लाखलाई वार्षिक तालिम दिनेगरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने बताउनु भयो ।
सांसद पाण्डेले प्रधानमन्त्री दाहाल देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाको लागि आवश्यक कामहरु पूरा गर्न आग्रह गर्नुभयो ।