
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढीरहेको दाबी गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले वर्तमान सरकार जनादेश अनुसार बनेको र त्यसले मुलुकको सुशासन र समृद्धिका लागि शुरुवाती दिनबाट सकारात्मक कदमहरु अघि बढाएको बताउनुभएको हो ।
सांसद शर्माले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन ‘सम्भव छ र सम्भावना छ’भन्ने देखाउनुपर्ने भएकाले सोही अनुसार अघि बढने विश्वास समेत व्यक्त गर्नुभयो । सरकारले राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने भएकाले त्यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
सांसद शर्माले वर्तमान गठबन्धन सरकार समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर भइरहेको पनि बताउनु भयो । जनताको अपेक्षा पूरा गर्दै अघि बढेमा मात्रै सरकार र राजनीतिक दलहरुले आफ्नो सुशासन र समृद्धिको मिसन पूरा गर्नसक्ने पनि स्पष्ट पार्नुभयो ।