राष्ट्रिय सभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

राष्ट्रिय सभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख-उप्रमुख मतदाता हुन्छन् । प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख-उपप्रमुखको मतभार अलग-अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसङ्ख्याका आधारमा निकालिन्छ । निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको १ नम्बर प्रदेशसभा पद रिक्त छ । निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय छ । फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), काँग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com