
काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कुटनीतिका लागि दक्ष राजदुतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ ।
आर्थिक कुटनीतिमा मुलुकपछि परिरहँदा पूर्वपरराष्ट्रसचिव समेत रहनुभएका उहाँले मुलुकको आर्थिक कुटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदुत नियुक्तीमा ध्यान दिनुपर्ने बताउनु भयो ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रवार सिंहदरवारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक र कुटनीति दुवै थाहा नभएकालाई सरकारले राजदुत बनाएर पठाएका कारण मुलुकको आर्थिक कुटनीतिक फलदायी हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले आर्थिक कुटनीति कार्यान्वयनका लागि नीतिगत रुपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाई थियो । उहाँले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
परराष्ट्रविद् आचार्यले आर्थिक कुटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भुमिका स्थापित गराउन पनि आवश्यक रहेको बताउनु भयो । बैठकका विमला राई पौडेललगायतका सांसदहरुले आर्थिक कुटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राख्नुभएको थियो ।